म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा घरेलु मैदानमै स्पेनको सेभियाले २–१ गोलले पराजित गरेपछि म्यान्चेस्टर युनाइटेडको च्याम्पियन्स लिग यात्रा सकिएको हो ।

पहिलो लेगमा गोल रहित बराबरी खेलका यी दुई टिमले दोस्रो लेगमा भने गोलको खडेरी तोडे । खेलमा सेभियाको लागि दुबै गोल बेन एडरले गरे भने म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काए ।

त्यस्तै, मंगलबार राति नै सम्पन्न अर्को खेलमा युक्रेनको शख्तरलाई हराउँदै ईटालीको एएस रोमा पनि च्याम्पियन्स लिगको क्वाटरफाईनलमा पुगेको छ । आफ्नै मैदानमा भएको दोस्रो लेगको खेलमा रोमालाई विजयी गराउन एडिन जेकोले निर्णायक गोल गरे ।

पहिलो लेगमा २–१ ले हारेको रोमा दोस्रो लेगमा विजयी भएसँगै एग्रिगेटमा खेल २–२ गोलको बराबरीमा पुग्यो । यस्तो अवस्थामा शख्तरको मैदानमा गरेको अवे गोलको मद्दतले रोमा क्वाटरफाईनलमा पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया