काठमाडौं । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ सोल्माका राजन पुर्वेली र उनकी श्रीमती सिर्जना तामाङ दृष्टिबिहिन हुन्। उनीहरु एकले अर्कालाई आँखाले देख्न सक्दैनन्। एकले अर्कालाई आवाज र स्पर्शबाट अनुभव गर्न मात्र सक्छन्। तर, उनीहरुको जोडी अरुकोभन्दा कम छैन।

८ वर्षअघि प्रेम बिवाह गरेका उनीहरुका ५ वर्षका छोरा छन्। उनीहरुको जोडी देख्दा लाग्छ उनीहरु अहिलेका ‘मुनामदन’ हुन्। उनीहरु एक हातमा सेतो लट्ठी बोकेर हातेमालो गर्दै हिँडडुल गर्छन्। जिल्लामा हुने बिभिन्न सांगीतिक कार्यक्रममा गाउन र बाद्यवादनका लागि हातेमालो गरेरै पुग्छन्।

आँखाले नदेखेपनि डेढ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले बिवाहमा परिणत गरेका हुन्। ‘हामी एकले अर्कालाई देख्दैनौँ, नदेख्दा पनि हामीबीच गहिरो प्रेम बस्यो,’ संगीत प्रशिक्षककारुपमा कार्यरत पुर्वेलीले भने, ‘भावनात्मक मायाँ पनि आँखाले देखिने दृश्य जस्तै हुँदो रहेछ, अहिलेसम्म जिन्दगी राम्रो चलिरहेको छ।’

संगीतमा बिम्यूज पुर्वेलीले हाल २ वर्षदेखि सदरमुकाम दिक्तेलमा पुर्वेली सरगम संगीत बिद्यालय सञ्चालन गरिरहेका छन्। दृष्टिबिहिन भए पनि उनले ईन्डियन बिश्वबिद्यालय इलाहाबादबाट शास्त्रीय संगीतमा व्याचलर उत्तिर्ण गरेका छन्। तिनै सीपलाई अहिले उनले संगीतका बिद्यार्थीमाझ बाँडिरहेका छन्। जीवन चलाउने मेसो बनाएका छन्।

हाल ३० वर्ष पुगेका राजन र सिर्जनाको केटाकेटी अवस्थामा बिरामीका कारण आँखाको ज्योती गुमेको हो। टाईफाईड बिग्रेपछि आफ्नो आँखाको ज्योती गुमेको राजन बताउँछन्।उनीहरुको बच्चा भने सवालङ्ग छन्।

एक समय राजन काठमाडौं मैतीदेबीस्थित एनएबी सरगम संगीत बिद्यालयमा संगीत सिक्न जान्थे। सिर्जना पनि सोही ठाउँमा व्यवसायीक तालिमका लागि जाने गर्थिन्। सोही समय नेत्रहिन संघको भवन निर्माणार्थ सांगीतिक कार्यक्रम गर्न हिँड्नेक्रममा राजन र सिर्जनाको चिनजान भएको हो। ‘त्यहीबाट हाम्रो प्रेम बस्यो, एकले अर्कालाई मन परायौँ,’ पुर्वेलीले भने, ‘डेढ वर्षपछि घर परिवारकै सल्लाहमा पारिवारिक बन्धनमा बाँधिएका हौँ।’, यो खबर आजको नागरिक दैनिकमा दमन राईले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया