सुख र दुःख मानिसको जीवनमा रात र दिन जस्तै हुन् । रात नभए दिन र दुःख नभए सुखको महत्व मानिसले थाहा नै पाउने थिएन । मानिसले आफूलाई दुःख आइलाग्दा पूरा समाजलाई फाइदा पुग्ने खालको उपाय खोजी गर्न पट्टी लाग्ने हो भने संसारमा दुःख नै नरहने अवस्था सिर्जना हुनेथियो ।

यस्तै प्रयास गरेका छन्– सैदुल लस्करले । सैदुल लस्कर पेशाले ट्याक्सी व्यवसायी हुन् । १२ वर्ष अघि उनकी बहिनीको इहलीला उपचारको अभावकै कारण तोडियो । बहिनीको मृत्युले आहत भएका लस्करले एउटा अनौठो अभियान सुरु गरे । त्यो अभियान थियो– मागेर अस्पताल बनाउने । त्यसको सुरुवात गर्दै उनले आफ्नो ट्याक्सीमा चढ्ने मानिसहरुसँग भाडाका अतिरिक्त अस्पताल बनाउनका लागि दान माग्न सुरु गरे ।

सैदुल लस्करको यो सपना ५५ वर्षको उमेरमा साकार भयो । लस्करले कोलकाताभन्दा ५५ किलोमिटर टाढा रहेको पुनरी गाउँमा एउटा अस्पताल बनाए । ३६ लाख रुपैयाँ खर्च गरी बनाइएको सो अस्पतालको सुरुवात उनकै करकमलबाट गरिएको छ । सो अस्पताल लस्करले खोलेको मरुर्फा स्मृति वेलयफेयर फाउन्डेशन नामबाट सञ्चालन भइरहेको छ ।

अब सो अस्पतालले उपचारको अभाव खेपिरहेका नागरिकलाई सेवा उपलब्ध गराउन थालेको छ । अस्पतालमा वरिपरिका गाउँगाउँबाट मानिसहरु उपचारका लागि आउन थालेका छन् । अस्पतालमा हाल ६ वटा शैय्या रहेको छ । आगामी ६ महिनाभित्र ३० शैय्या थप्ने लक्ष्य पनि राखेका छन्– लस्करले । अहिले यहाँ १२ जना डाक्टरको समूहले विरामीको उपचार गरिरहेका छन् । अस्पतालमा हाल एक्स–रे मेसिन, इसीजी मेसिनको सुविधा उपलब्ध गराइएको छ । अस्पतालले ओपीडी शुल्क २० रुपैयाँ लिने गरेको छ । विरामीहरुको सुविधाको लागि विभिन्न गैरसरकारी संस्थाहरुले निःशुल्क दबाइ पनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कालिकापुरमा मेकानिकल इन्जिनियरका रुपमा कार्यरत २३ वर्षीय सृष्टि घोषले यो अस्पतालको उद्घाटन गर्दै पहिलो महिनाको तलब अस्पताललाई दान दिइन् । सृष्टि र उनकी आमा लस्करको ट्याक्सीमा पहिलो पटक चढ्दा उनले एक सय रुपैयाँ अस्पताल बनाउनका लागि दान दिएकी थिइन् । सृष्टिले चेन्नईमा जागिर खान थालेपछि कोलकाता आउन पाइनन् तर पहिलो महिनाको कमाइ साँचेर राखेर राखिछन् । उनी भन्छिन्– यो अस्पताललाई दान दिनकै लागि राखेकी हुँ । लस्करले गरेको यो महान कार्यबाट प्रेरित भएर सृष्टिले यसरी सहयोग गर्नुलाई आफ्नो कर्तव्य सम्झिइन् । सृष्टिको गुन सम्झिँदै उनलाई अस्पताल उद्घाटनका लागि बोलाइएको थियो ।

अहिले अस्पताल भएको ठाउँ वरिपरि कुनै अस्पताल नभएका कारण गाउँका मानिस ठूलो पीडामा हुन्थे । लस्करकी बहिनीको छातीमा इन्फेक्सन भएका कारण सन् २००४ मा १७ वर्षको कलिलो उमेरमा निधन भएको थियो । यही पीडामा रहेका बेला लस्करले उपचारको अभावमा अरु कसैलै यस्तो पीडा भोग्नु नपरोस् भन्ने सङ्कल्प गरेका थिए ।

सेवा भावले कुनै काम सुरु गर्नु एउटा चुनौती स्वीकार गर्नु हो । अस्पताल बनाउन आवश्यक पर्ने जग्गा खरिद गर्न आवश्यक पर्ने तीन लाख रुपैयाँ जुटाउनु लस्करका लागि बहुतै कठिन काम थियो । आफ्नी श्रीमतीको सबै गहना बेचेर उनले यो जमिन खरिद गरे । लस्करकी पत्नी शमीमाले उनलाई सधैं सम्पूर्णरुपले सहयोग गरिन् । लस्कर अस्पतालमा नर्सिङ ट्रेनिङ सेन्टर खोलेर गाउँका केटीहरुलाई तालिम दिन चाहन्छन् । यसका लागि उनले प्रयास गरिरहेका छन् ।

अस्पताल खोल्नका लागि लस्करले १२ वर्ष अघि सुरु गरेको अभियानले अहिले एउटा भवन मार्फत भौतिक उपस्थिति जनाएको छ । यो अभियानमा अहिले सकारात्मक सेवा भाव भएका धेरै मानिसहरु जोडिन थालेका छन् । अहिले अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक सुविधा के हुन सक्छ भनेर केही सकारात्मक सोच भएका मानिसले खोजी पनि गरिरहेका छन् । यो प्रवृत्तिलाई हेर्दा भविष्यमा पनि यस्तो सहयोगले निरन्तरता पाउने विश्वास गर्न सकिन्छ ।

धेरै मानिसले अहिले पनि समाजका लागि केही राम्रो गरौं भन्ने सोच राख्छन्, तर अघिसर्ने हिम्मत गरिरहेका हुँदैनन् । ट्याक्सी चालक सैदुल लस्करले भने आम मानिसका लागि अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन् । धेरैधेरै धन्यवाद– सैदुल लस्कर ।

(केनफोलिओसको सहयोगमा ठमनाथ घिमिरेद्वारा अनूदित)

फेसबुकबाट तपाईको प्रतिक्रिया