काठमाडौं । प्रदेश २ का उद्योग तथा पर्यटनमन्त्री रामनरेश रायले आफूलाई पुरानो गाडी दिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले मन्त्री जस्तो व्यक्तिलाई सरकारले पुरानो गाडी दिएर अपमान गरेको गुनासो गरे ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बुधबार बिहान कुरा गर्दै प्रदेशका मन्त्री रायले भने, ‘केन्द्र सरकारले मलाई हेपेको छ ।

पुरानो गाडी दिएको छ । बेलाबेला बिग्रिन्छ । यस्तो अन्याय गर्न मिल्छ ?’ उनले आक्रोशित हुँदै भने, ‘कमसे कम मन्त्री जस्तो व्यक्तिलाई राम्रो गाडी त दिनु पर्छ नि !’ प्रधानमन्त्री केपी ओलीतर्फ संकेत गर्दै उनले केन्द्रले आफूहरूलाई हेर्ने दृष्टीकोण फरक रहेको बताए ।

राष्ट्रपति निर्वाचनका बेला मतदान गर्न काठमाडौं आउने बेला आफू चढेको झण्डावाल गाडी बाटोमा बिग्रिएको मन्त्री रायले बताए । ‘म चढेको गाडी बाटोमा बिग्रियो । मन्त्री चढेको गाडी पनि बिग्रने ?’, उनले भने, ‘मुख्यमन्त्रीको गाडी पनि बिग्रिएपछि बसमा चढेर जान परेको थियो ।’

राष्ट्रिय जनता पार्टी नेपालका नेता समेत रहेका रायले केन्द्र सरकारले प्रदेश २ लाई हेपेको आरोप पनि लगाए । ‘हामीलाई केन्द्रले हेपेको छ’, उनले भने, ‘कुनै अधिकार नै दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया