दक्षिण कोरिया, जापान र चीनबीच आउने हप्तामा जापानकाे टोकियोमा त्रीपक्षीय शिखर वार्ता आयोजना हुने सियोलले मंगलवार घोषणा गरेको छ । यस पछिल्लो घोषणालाई विश्लेषकहरुले उत्तर कोरिया लक्षित कूटनीतिक बहसको रुपमा व्याख्या गरेका छन् ।

करिब दुई वर्षपछि मे ९ मा सियोलका राष्ट्रपति मुन जेइ इन, जापानी प्रधानमन्त्री सिन्जो आवे र चिनियाँ प्रिमियर लि किक्वाङबीच यो शिखर वार्ता हुँदैछ ।

राष्ट्रपति मुन जेइ इन र उत्तर कोरियाली नेता किम जोङ उनबीचको पछिल्लो शुक्रबारको ऐतिहासिक वार्तापछि यो आगामी वार्ता आयोजना हुन लागेको हो । वार्तामा दुई देशबीच कोरियाली प्रायद्विपलाई निशस्त्रीकरण गर्ने र कोरियाली युद्धलाई अन्त्य गर्ने सहमति बनेको थियो ।

आगामी शिखर वार्तामा संलग्न हुने यी तिनै देशहरु उत्तर कोरिया मामिलामा गहिरो रुपमा संलग्न छन् । सियोल उत्तरसँगको द्वन्द्धरत राष्ट्र हो भने जापान अमेरिकाको प्रमुख साझेदार राष्ट्र हो, जसले विभिन्न समयमा उत्तरको खतरालाई सामना गर्दै आइरहेको छ । चीन उत्तरको प्रमुख कूटनीतिक समर्थक र व्यापार साझेदार राष्ट्र हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया