प्युठान । जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एकजना सुत्केरी महिलाको गएराति मृत्यु भएको छ। मंगलबार बिहान जिल्ला अस्पताल प्यूठानमा भर्ना भएकी प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी बर्ष २५ की राधिका धामीको मृत्यु भएको हो।

मंगलबार बिहान सुत्केरी व्यथा लागेपछि सुत्केरी हुन अस्पताल आएकी उनको सामान्य अवस्थामा सुत्केरी हुने नसक्ने अवस्था आएपछि दिउँसो बाह्र बजे अप्रेसन गरि बच्चा निकालिएको थियो। अप्रेसन गरेको करिव सात घण्टा पछि सुत्केरीको मृत्यु भएको बिरामीका आफन्त उर्मिला थापाले बताइन्। डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरु आन्दोलनमा उत्रेका हुन्।

अप्रेसन पछि २४ घण्टासम्म केही खान नदिनु भन्ने डाक्टरको सुझावलााई वास्ता नगरी बिरामीको आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले जानकारी दिएका छन्।

बिरामीको आफन्तहरुले भने डाक्टरहरुको लापारबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका छन्। अप्रेसन थ्रेटरमा तोडफोड गर्न सुरु गरेपछि अस्पतालमा कडा सुरक्षा ब्यवस्था मिलाइएको प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए। उनले आफन्त र अस्पताल प्रशासन बीच बार्ताको वातावरण मिलाउने बताए।

अस्पताल प्रशासनले  भने बिरामी मृत्युको कारण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया