चितवन । राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण नेपालमै पहिलो पटक चितवनबाट सुरु भएको छ। चितवनको शरदपुरमा मंगलबार आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका ९ का ७८ वर्षीय रुद्रनाथ कोइरालालाई बारकोड लगाएर महानगरपालिकाकी प्रमुख रेणु दाहालले कार्यक्रमको शुभारम्भ गरिन्।

प्रमुख दाहालले क्षयरोगीहरुलाई सम्मानको खाँचो रहेको बताउँदै स्वास्थ्यप्रति संवदेनशील रहन नगरवासीलाई आग्रह गरिन्। नियमित औषधि सेवन र स्वास्थ्य आचरणले क्षयरोग निको हुने धारण राख्दै उनले बिरामीको मनोबल उच्च राख्न र संवेदनशील रोगहरुबारे जनचेतना फैलाउन आवश्यक रहेको बताइन्। ‘उच्च प्रविधि प्रयोग गरिएको यस सर्वेक्षण र प्रिभिलेन्समा सबैको सहभागिता आवश्यक छ,’ उनले भनिन्।

राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षणका कोअर्डिनेटर अनिल थापाले सर्वेक्षण अहिले सर्लाही, चितवन र दाङमा सञ्चालन भइरहेको जानकारी गराए। ‘थप ५२ जिल्लामा सर्वेक्षण पनि गरिनेछ र त्यसबाट ७८ हजार जना क्षयरोगीको सर्वेक्षण गरी यथार्थ विवरण लिइनेछ,’ उनले भने।

अन्तर्राष्ट्रिय समुदायले यस्तो सर्वेक्षण नेपालले पनि गर्न सक्छ र? भनी आशंका गरिरहेको अवस्थामा पेपरलेस डिजिटल प्रविधिबाट गरिने सर्वेक्षण सफलतापूर्वक सम्पन्न गरेर विश्व समुदायलाई देखाउने उनले प्रतिबद्धतासमेत जनाए।

थापाले नेपालमा वार्षिक १५ हजारको हाराहारीमा नयाँ क्षयरोगीहरू देखिने गरेको जानकारी दिँदै नयाँ र पुराना क्षयरोगीमध्ये करिब ७ हजार जनाले बर्सेनि ज्यान गुमाउने गरेको जानकारी गराए। चितवनबाट सुरु भएको यो कार्यक्रम भरतपुर, अयोध्यापुरी र गर्दी क्लस्टरमा बुधबारसम्म सञ्चालन हुनेछ।

नेपालका ५५ जिल्लाका ९९ क्लस्टरमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिबाट बिरामीको छाती, फोक्सो र अन्य अंगको परीक्षण गरिनेछ। क्षयरोगको यथार्थ अवस्था बुझेर भावी रणनीति लिने सरकारको उद्देश्य रहको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया