काठमाडौं । नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बीच आगामी ५ वर्षको सहकार्य सम्बन्धी रणनीति सार्वजनिक भएको छ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा सन् २०१८ देखि २०२२ सम्मको सहकार्य रणनीति सार्वजनिक गरिएको हो। यो पाँच वर्षमा नेपाल सरकार र डब्लुएचओले मुख्यगरी चार क्षेत्रका कार्यक्रममा सहकार्य गर्नेछन्।

पहिलो प्राथमिकतामा संघीय राज्य प्रणाली अनुसार सर्वव्यापी स्वास्थ्य सेवालाई बढावा दिने रहेको छ। जस अन्तर्गत स्थानीय तहसम्मका स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने र राष्ट्रिय रुपमा नीति निर्माण तथा अनुगमन गर्ने उद्देश्य रहेका छन्।

मुख्य जोड दिइएका जनस्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा प्रदान गर्ने कामलाई सहकार्यको दोस्रो प्राथमिकतामा राखिएको छ। यस अन्तर्गत क्षयरोग नियन्त्रण, मलेरिया लगायतका सरुवा रोग उन्मुलन, खोपबाट रोकथाम गर्न सकिने रोगलाई नियन्त्रण, हेपाटाइटिस तथा नयाँ खोपबारे जनचेतना जगाउने र जीवनभर स्वास्थ्यलाई ध्यान दिने विषय रहेका छन्।

यसैगरी स्वास्थ्य सुरक्षा, विपत्तिको पूर्वतयारी र उद्धारको विषय तेस्रो र स्वास्थ्यको उपलब्धिका लागि बहुक्षेत्रीय सहभागिता चौथो प्राथमिकतामा राखिएको छ।

रणनीति सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नेपालको आवश्यकता, राजनीतिक परिवर्तन र अपनाउनुपर्ने कार्यदिशालाई ध्यान दिँदै रणनीति तयार पारिएको बताइन्। उनले यो रणनीति नेपालको संविधानमा उल्लिखित आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन सहयोगी हुने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, ‘यो रणनीतिले हामीलाई आगामी ५ वर्ष दिशानिर्देश गर्नेछ। रणनीति निर्धारण गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो। यसको कार्यान्वयन झन् चुनौतीपूर्ण हुन्छ।’

विगत ६४ वर्षदेखि नेपालको स्वास्थ्यमा डब्लुएचओले सघाइरहेकोप्रति धन्यवाद दिँदै राज्यमन्त्री अर्यालले आगामी दिनको सहकार्य अझ उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिन्।

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले स्वास्थ्य क्षेत्रको विकासमा नेपालले धेरै महत्वकांक्षी लक्ष्य तय गरेकाले यसमा डब्लुएचओएको साथ महत्वपूर्ण हुने उल्लेख गरिन्।

‘हामीले विगतमा हासिल गरेका उपलब्धि रक्षार्थ र आगामी लक्ष्य प्राप्तिका लागि यो रणनीति सहयोगी हुनेछ’, उनले भनिन्।

डब्लुएचओका सहमहानिर्देशक (सरुवा रोग) डा रेन मिंघुइले रणनीतिले नेपाल सरकारसँग सहकार्य गर्न सहज हुने बताए। नेपालका नयाँ सरकार र नयाँ संरचना अनुसार रणनीति सार्वजनिक गरिएकाले उपलब्धिमूलक हुने उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया